Second Semester_Nepali_निबन्ध_शिक्षा

शिक्षा

-लक्ष्मी प्रसाद देवकोटा



 नेपाली साहित्यका महाकविका रूपमा चिनिने मूर्धन्य प्रतिभा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको एक्लो कविता विधामा मात्र कलम चलाएका थिएनन । उनले त निबन्ध, नाटक, कथा आदि विधामा समेत कलम चलाएर सफलताको शिखरमा पुगेका छन । साँच्चै भन्ने हो भने उनले लेखेकाजस्ता गहिरा र भावमय निबन्ध त्यत्तिकै सिद्धहस्तताका साथ लेख्ने निबन्धकार नेपाली साहित्यको निबन्ध विधाले पाउन सकेको छैन भनेर ठोकुवा गरे हुन्छ ।

उनले लेखेका मध्ये केही उत्कृष्ट निबन्धहरूलाई समेटेर “लक्ष्मी निबन्ध सङ्ग्रह र दाडिमको रूखनेर” नामका दुईवटा निबन्धसङ्ग्रह प्रकाशित भएका छन ।
लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट निबन्धहरू मध्ये यहाँ “शिक्षा” नामक निबन्धको विश्लेषण गर्न खोजिएको छ । लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित २१ वटा निबन्धमध्ये “शिक्षा” पनि एक उत्कृष्ट निबन्ध हो । यो निबन्ध छोटाछोटा नौ अनुच्छेदसम्म फैलिएको छ । यसमा आधुनिक शिक्षा पद्धतिप्रतिको उनको वितृष्णालाई उजागर गर्न खोजिएको छ । आत्माले नचाहँदा नचाहँदै बलजफतसँग घोकेर शिक्षा आर्जन गराउन खोज्नु मूर्खता हो भन्ने उनको ठम्याइ छ ।

निबन्धको पहिलो अनुच्छेदमा आधुनिक घोकन्ते शिक्षाले हामीलाई मूर्ख बनाएको वा स्वतन्त्रताका साथ आफु बालबालिकाले चाहेर शिक्षा दिइएको नभई नाके डोरी लगाएर बलजफतका साथ शिक्षा लादिएको कुरा बताएका छन । कति शिक्षकहरू बेतका छडीले पिटेका र स्वतन्त्र भएर विचरण गर्न बालबालिकाले छुट नपाएका प्रसङ्ग उकास्दै भविष्यका कर्णधार भनिने ती अबोध शिशुहरू अदालतका अध्यक्षभन्दा माथि जान सकेका छैनन्, त्यसकारण मलाई शिक्षा आर्जनको नाममा त्यस्ता जञ्जीर नलगाऊ भनिएको छ ।

निबन्धको दोस्रो अनुच्छेदमा शिक्षाका ठेकेदार र शिक्षा विशेषज्ञहरू (जसले आधुनिक भनिएको जञ्जीरे ) शिक्षा लागु गराउन खोज्छन्, तिनको विरोध गरेका छन् । मानिसले जङ्गली युगमा कुन शिक्षा प्रणालीको अधिनमा रहेर शिक्षा हासिल गर्दै आयो त ? भन्ने गहन प्रश्न रहेको छ । शिक्षा पनि एउटा कला भएकोले हरेक शिशु स्वतन्त्र भएरै सिक्न सक्छ भन्ने उनको जोड छ ।

निबन्धको तेस्रो अनुच्छेदमा आफूले शिक्षाविज्ञहरूका सबै कुरा काट्न खोजेको नभई हाम्रोमा लागु भएको शिक्षा प्रणालीको मात्र विरोध गरेर सुधार गर्न खोजिएको भनेका छन् । शिक्षा भनेको त्यस्तो केही कुरा हुनुपर्छजस्तो लाग्छ, जसले किसानको आदत लेओस्, माटो खनोस्, मलिलो बनाओस् । जमिन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका निमित्तमात्र, बीउलाई खुल्ला हावा दिनका निमित्त मात्र, बिरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र ।

जीवनको कुनै रेखागणित नभएकोले त्यहाँबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकि रहने भएकाले हरेक बालबालिका कोही पनि अपूर्ण हुँदैनन् भन्दै विज्ञानले सबै कुरा भेट्टाउन नसक्ने हुनाले हाम्रा मनोवैज्ञानिक अध्ययन विवेकको अँध्यारोभित्रै हराउँछन भनेका छन् । विदेशी भाषा (अङ्गे्रजी)को विरोध गर्दै लवज नआए पनि घाँटी तानेर निकाल्न खोज्छौँ । यसरी सिकाइने तरिकाले मगजमा ज्ञान बस्छ तर हृदय भने खोक्रो बन्दै जान थालेको छ ।

निबन्धको चौथो अनुच्छेदमा हाम्रो शिक्षा प्रणालीको साथै शिक्षा आर्जन गर्ने समयको बारेमा स्पष्ट गर्न खोजिएको छ । कक्षा एकदेखि लिएर बीएसम्मको पढाइ सक्न १५ वर्ष लाग्यो तर कथा सुनाएर, बालबालिकाहरूसँग कुरा गर्ने एउटा बालनिकेतन निर्माण गरेर १५ वर्षमा निकै कठिनसँग शिशुले आर्जन गरेको ज्ञान त केवल तीन वर्षमै राम्रोसँग घुसाउन सक्थेँ भन्ने दाबी गरेका छन ।

यति लामो समय र मिहिनेत गरेको फल केवल कागजको खोस्टो भनेर पैसा वा प्रमाणपत्रलाई भनेका हुनसक्छन । त्यो पढाइको डरले गर्दा हामी बीए वा एमए गरेपछि किताब परै पन्साएर बस्छौँ । आधुनिक शिक्षाको लक्षण यही हो ? यति पढिसकेपछिको मूख्य काम रोटी कमाउने छ भनेर हाम्रो वर्तमानको नियतिलाई धिक्कारेका छन । आफूले पनि शिक्षक भएर विद्यालय र कलेजमा पढाएर धेरै लड्काहरूलाई विगारेँ होला भन्ने खेद उनलाई भएको छ ।

यदि यो १५ वर्षको लामो शिक्षा प्रणालीलाई कटाएर पाँच वर्षको बनाउन पाए १० वर्षको युवाको समय वर्वाद नभएर राष्ट्रको उन्नतिमा लगानि हुने थियो भन्दै पश्चिमाहरूले अपनाएको यो शिक्षा प्रणालीलाई हटाएर हाम्रो अनुसारको बनाउन सके हामीले १० वर्ष कष्ट नपाई राष्ट्रोन्नतिमा अग्रसर हुने थियौँ । यदि यसरी छिटोमिठो शिक्षा प्रणाली अपनाउने हो भने नेपाल राष्ट्रको भविष्य सुनौलो छ र झुपडीसम्म किताब पुर्याउन सकिन्छ अनि खेतमा परीक्षा लिन सकिन्छ भनेर आजको घोकन्ते शिक्षालाई नकार्दै प्रयोगात्मक परीक्षा र शिक्षाको लागि जोड दिएका छन् ।

निबन्धको अर्को अनुच्छेदमा जुन शिक्षाले मान्छेलाई पूर्ण मान्छे बनाउछ, जसले जीवनको अल्पतामा दृष्टि राखेर समयको हिसाव उपयोग गर्न सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाहरूमा जसले सबै मानसिक र शारीरिक शक्तिलाई बचाउने तबरले मिलापसँग संवद्र्धन दिन्छ, जसले सत्यको बाटोमा मनुष्यको अनन्त शक्ति पत्ता लगाई विकासशील क्रमहरूद्वारा प्रकाशनशील बनाउँछ र बढ्दो शक्तिको साथ त्यस्तो अमिर चैतन्यको विकास गराउँछ त्यो मात्र शिक्षा हो भन्दछन उनी ।

आजको हाम्रो घोकन्ते शिक्षा प्रणालीले न विद्यार्थी, न शिक्षक, न अभिभावक कसैलाई पनि सन्तुष्ट पार्न सकेको छैन । आजको शिक्षा प्रणालीको घेरोमा रहेर शिक्षा आर्जन गर्न करिब ९५ प्रतिशत बालबालिकाहरू अनिच्छुक छन् । यसको खास कारण निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले बडो मार्मिक ढङ्गले औँल्याएका छन् र सुधारका उपायहरू बताएका भए पनि यी कुरालाई पूर्णरूपले उपेक्षा गर्दै हामी आ–आफ्नै ढर्रामा शिक्षा लिने र दिने काममा लागेका छौँ । यो वास्तवमा एउटा विडम्बना नै मान्नुपर्छ ।










Comments

Popular posts from this blog

Third Semester_Web Technology_Quesiton Answer